Abuda Khatun -Alia
आलिया खातुनको जन्म २०५३ साउन १८ गते शुद्धोधन ७ मटेरीयामा एक सामान्य परिवारमा भएको थियो । उनकी एक दिदी र दुई भाई थिए । घरको आर्थिक स्थिति निकै कमजोर थियो । सम्पतिको नाउँमा केहि खेत र सानो किराना पसल थियो । पछि त्यही पनि आगो लागेर जल्यो । घरमा आमा बाबालाई घर चलाउन निकै कठिन भयो । दुई जना छोरी र एउटा छोरा कसरी पढाउने, कसरी बिवाह गरीदीने, दाईजो कसरी दिने भन्ने चिन्ताले दिन दिनै पोल्थ्यो ।
आफ्नो आर्थिक अवस्था कमजोर भएकाले आलियालाई पढ्नको लागी भनि ईन्डिया अंकल आन्टीकोमा पठाउनु भयो । पाँच(५) वर्ष ईन्डियामा पढेर आलिया नेपाल फर्किन । शुद्धोधन मटेरीयाकै स्कुलमा र्भना भएर पढाइलाई निरन्तरता दिन थालिन । उनि पढाइमा राम्रै थिइन् । जब उनि नौं(९) कक्षामा पुगीन अचानक घरमा उनको बिवाहको कुरा चल्यो । उनको अनुमति बिनानै बाबा आमाको दबाबमा परेर १६ वर्षको उमेरमा उनको बिवाह भयो । उनका सबै सपनाहरु अधुरा भए । उनको बिहेमा केटा पक्षले मागे अनुरुप पचास हजार (५००००) नगद रकम र केहि सामान उनका बाबु आमाले दिएका थिए । चलन चल्ति अनुसार उनि बिहे भएको घरमा १८ दिन बसेर आफ्ना बाबु आमाको घरमा फर्किन । माईतीमा २ महिना बसेपछि उनका श्रीमान लिन आए, उनि उसै संग फर्किन । उनि भन्छिन –“जब उनि घरमा गईन उनी माथी दुर्व्यवहार सुरु भयो । दाईजो थोरै ल्याएको भनेर श्रीमानले कुटपीट गर्ने, सासु र जेठानीले गालि गर्ने गरेका थिए उनलाई । उनको श्रीमानले आफुलाई उनि मन नपरेको तर आमाले जबरजस्ती गरेकाले बिहे गरेको कुरा बताएका थिए । यहि झोकमा उसले पटक पटक पिटेका थियो, असभ्य शब्दहरुले गाली गरेको थियो, केही बोलेमा मुख लागीस भनेर अझ बडि हिंसा गर्थ्यो ।”
आखाँ डिलमा आँसु रोकेर, अबरुद्ध स्वरमा उनि अझै थप्छिन -“जिवनमा नसोचेको कष्ट सहनुपर्यो मैले । मलाई पढ्ने मन थियो, त्यो पुरा भएन; बाबु आमाले बिहे गरिदिनु भयो, मेरो पटक्कै मन थिएन तर सबैले एक दिन गर्नै पर्ने हो भनेर मन बुझाए । बिहे गरे । सोचे सबै ठिकै होला, लोग्नेको माया पाइएला र लाउने खाने रहर पनि केहि पुरा होला….। तर सोचे जस्तो केहि भएन । श्रीमान श्रीमती एउटै घरमा भए पनि सुत्ने कोठा भने अलग थिए । उ म संग कहिल्लै मिठो बोलेन, अरु रहरको त के कुरा गर्नु । उसले गाली गर्दा –“म अर्कि बिहे गर्छु भन्थ्यो ।” झन दिन प्रति दिन म माथी हिंसा मात्रै भयो ।”
आलियालाई दिन काट्न पनि सारै गाह्रो भयो केहि समय पछि उनि माईतीमा आएर बसीन । उनि माईतीमा आएको केहिदीनमानै श्रीमानले साँच्चिकै अर्को बिवाह गरेर ईन्डिया गएछ । उनले ईन्डिया प्रहरीमा निवेदन दिइन र पछि प्रहरीको सहयोगमा उसलाई नेपाल झिकाईन । उनको बिवाह दर्ता भएको थिएन । यो मौकामा उनले नागरीकता र बिवाह दर्ताको लागि प्रस्ताव राखीन तर कसैले उनको कुरा सुनेन । दोस्रो पटकमा उनले निवेदन दिईन र नागरीकता बनाइन् र बिवाह दर्ता गरीन ।
उनको श्रीमान फेरी ईन्डिया गयो । दुई बर्ष कुरेर बित्यो, उनलाई लाग्थ्यो कि उसको मन बदलिन्छ र उ फर्किन्छ । तर उ आएन । उता उसले अर्कि श्रीमती बनाएको र बच्चा पनि भैसकेको खबर आयो । यो खबरले उनलाई केहि दिन विक्षिप्त बनायो, भन्छिन उनि । त्यसपछि बाबु आमाकै सहयोगमा आलियाले सम्बन्ध विच्छेदको लागी पहल गरिन । त्यसो गर्दा भैरहवा जिल्ला अदालतबाट उनको हितमा चित्त बुझ्दो फैसला भएन । तर उनि हार मानिनन्, उनले पुनरावेदन अदालत, बुटवलमा उजुरी हालिन । मुद्दा लड्दा लड्दा हालै २०७६ असार २९ गते बल्ल उनको पक्षमा फैसला भएको थियो । अहिले मुद्दा जितेर ३ कठ्ठा ४ धुर जग्गा सहित सम्बन्ध बिच्छेद गरेर उनि आफ्ना बाबु आमा संगै बस्दै आएकी छन् ।
नेपाल भौगोलिक तथा स्वास्थ्य सर्वेक्षणले २० देखि २४ बर्ष उमेर समुहमा गरेको अध्ययन अनुसार सन् २०१६ को रिपोर्टमा नेपालमा मात्रै १८ बर्ष भन्दा पहिल्लै बिहे हुनेहरु ४१% छन् । यि मध्य आलिया एउटा प्रतिनिधि पात्र हुन जसले बालबिवाह र माहिला हिंसा जस्ता अवान्छित घटना बेहिर्नु पर्यो ।
आलियामा साहसको कमी त थिएन तापनि जिवनको नयाँ मोड कसरी बनाउने भन्ने दुविधा थियो । यत्तिकैमा उनको गाउँमा सिर्जनशील संस्था नेपालले किशोरी सशक्तिकरण कार्यक्रम अन्तर्गत किशोरी क्लब र सशक्तिकरण क्लिनिकको (किशोरी क्लब / सशक्तिकरण क्लिनिक गर्ल्स फर्स्ट फण्ड को आर्थिक सहयोगमा सञ्चालित कार्यक्रम हो) निर्माण गरेको थियो । उनि यसमा आबद्ध भइन् । उनि हाल सक्रिय रुपमा किशोरी क्लिनिकका हरेक कार्यक्रममा उपस्थित छिन । विशेष गरि बालविवाह विरुद्ध सडक नाटकमा उनि आफै एउटा पात्रको रुपमा उभिएर सशक्त प्रस्तुति गरिरहेकि छिन् । उनि भन्छिन –“यो कार्यक्रमले नेत्तृत्व विकासमा सहयोग गरेको छ ।” उनलाई यस संस्थाले आत्मनिर्भर बन्नको लागी आर्थिक सहयोग पनि गरेको थियो । उनि सिलाई कटाईको तालिम लिएर यो सिपकै प्रशिक्षक बन्ने योजनामा अगाडि बढेकी छिन् । उनि पहिलेएक महिला हिंसा र बालबिवाह पिडित महिला थिइन भने अब आत्मनिर्भर हुनुका साथै बलियो आत्मबल लिएर बाल बिवाहको विरोधमा बोल्न सक्ने भएकि छिन ।